Gorkha Gandhi Prasad Singh Subba : एक अद्बितीय स्वतन्त्रता सेनानी

"गोर्खा गान्धी" प्रसाद सिंह सुब्बा: असमका एक अद्वितीय स्वतन्त्रता सेनानी



असमको भूमिमा एक महान् स्वतन्त्रता सेनानी, समाज सुधारक र राष्ट्रिय एकताको प्रतीकका रूपमा परिचित धरोहरस्वरुप व्यक्तित्व बावु प्रसाद सिंह सुब्बाज्यू । 
१० सितम्बर १९०८ मा हालको विश्वनाथ जिल्ला अन्तर्गत गजपुर छपड़ी, गहपुरमा जन्म भएको हो । वहाँका पिताको नाम मानबहादुर सुब्बा र माता धनरानी देवी हुनुहुन्थ्यो। बावु प्रसाद सिंह सुब्बाज्युले आफ्नो जीवनलाई समाजको हित र देशको स्वतन्त्रताको लागि समर्पित गर्नुभयो । "प्रसाद बावु" भनि सर्वमान्य प्रसाद सिंह सुब्बाज्यू "गोर्खा गान्धी" भनि परिचित हुनु भएको हो ।

महात्मा गान्धीको प्रभाव र जीवनको आदर्श:


राष्ट्रपिता महात्मा गान्धीका महान् आदर्शहरू, विशेष गरी "अहिंसा परम धर्म", प्रसाद सिंह सुब्बाको जीवनमा गहिरो प्रभाव पारेका थिए। वहाँले अत्यन्तै सादा सरल जीवन बिताउनु भयो र आँफूले पालना गरेका आदर्शहरूको अनुसरण गर्न अरुलाई पनि प्रेरित गर्नु भयो । आफ्नो व्यक्तिगत जीवनलाई गान्धीका सिद्धान्तहरूसँग जोडी, अन्याय र शोषणको विरुद्ध अहिंसात्मक आन्दोलनको मार्ग अपनाउन प्रेरित गर्नुभयो। प्रसाद बावुका कार्यहरू र विचारहरू समाज सुधारका लागि एक उदाहरण बनिए।


स्वतन्त्रता आन्दोलनमा भूमिका:



सन् १९३० मा, जब भारतीय स्वतन्त्रता आन्दोलनले नयाँ गति लिँदै थियो, प्रसाद बावुले ब्रिटिश साम्राज्यको कुशासन र शोषणकारी नीतिहरूका विरुद्ध ब्रह्मपुत्रको बुढ़ाछपड़ीमा स्वतन्त्रता सेनानी शाखा स्थापना गर्नुभयो। यस कदमले असममा आन्दोलनलाई अझ बलियो बनायो। उहाँ भारतीय राष्ट्रिय कांग्रेस (INC) का सक्रिय सदस्य हुनुहुन्थ्यो र सबै स्वतन्त्रता सेनानीहरूसँग मिलेर आन्दोलनलाई सुदृढ पार्न र संगठित गर्न महत्वपूर्ण भूमिका खेल्नु भएको थियो।


तेजपुर ग्रेजियर्स एसोसिएसन र स्वदेशी आन्दोलन:



१९३३ मा, बावु प्रसाद सिं सुब्बाले तेजपुरमा ग्रेजियर्स एसोसिएसनको स्थापना गर्नु भयो । किसानहरू र गोपालकहरूलाई संगठित गर्न र उनीहरूको हितमा काम गर्ने उद्देश्यले डेयरी फार्मको स्थापना गर्नु भयो। यस कार्यले विदेशी उत्पादनको बहिष्कार र स्वदेशी उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्ने स्वदेशी आन्दोलनलाई समर्थन गर्‍यो। यो फार्म भारतीय स्वदेशी आन्दोलनको एक प्रतीक बन्न पुग्यो, जसले स्वदेशी उत्पादनको महत्वलाई जनमानसमा स्थापित गर्‍यो।


अखिल भारतीय गोर्खा लिगको असम शाखा स्थापना:



बावु प्रसाद सिं सुब्बाले असममा गोर्खा समुदायको राजनीतिक, सामाजिक र शैक्षिक चेतनालाई जागरूक बनाउन महत्त्वपूर्ण योगदान दिनुभयो। उहाँले अखिल भारतीय गोर्खा लिगको असम शाखा स्थापना गरेर गोर्खा समुदायलाई एकत्रित गर्दै उनीहरूको हक-अधिकारका लागि आवाज उठाउन पहल गर्नु भयो। वहाँको प्रेरणादायी नेतृत्व र समाज सुधारक क्रियाकलापका कारण सन् १९५० मा प्रसाद बावुलाई "गोर्खा गान्धी" उपाधि प्रदान गरियो।


१९४२ को भारत छोड़ो आन्दोलनमा भूमिका:



प्रसाद सिं सुब्बाज्यू १९४२ को भारत छोड़ो आन्दोलनमा पनि सक्रिय लड़ाकु हुनुहुन्थ्यो। वहाँको सांगठनिक क्षमता र विचारशील नेतृत्वले आन्दोलनलाई एक अद्वितीय गति दिन महत्त्वपूर्ण भूमिका खेलेको थियो। प्रसाद बावुको योगदानका कारण तेजपुर सत्र अदालतले वहाँलाई १९५१ मा निर्णायक सदस्यको रूपमा नियुक्त गरेको थियो।


एक महान् नेता र जनताको सेवक:



२७ अक्टोबर १९८६ मा यो महान नेता, स्वतन्त्रता सेनानी र जनताका सेवक बावु प्रसाद सिं सूब्बाज्यूको निधन भयो। समाजको हितमा आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने महान व्यक्तित्वको योगदान आज पनि प्रेरणाको स्रोत बनेको छ।
प्रसाद सिं सुब्बाज्यूको जीवन र योगदानले असमको इतिहासमा एउटा अमिट छाप छोड़ेको छ। वहाँको जीवन संघर्ष र त्यागको सन्देशले आज पनि समाजमा नैतिकता, एकता र सत्यको मार्गमा हिँड्न प्रेरित गर्दछ।
बावु प्रसाद सिं सुब्बाज्यूको योगदानलाई सम्झँदै हामी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं_ gorkhaweb.com

Post a Comment

0 Comments